प्रदेश सरकार फेरबदलको चर्चा बीच नेकपाका तीन सर्त
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । विभिन्न प्रदेशमा सरकार परिवर्तनको चर्चा चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टीले सरकारमा सहभागी हुन तीन सर्त अघि सारेको छ।
कांग्रेस–एमालेबीच आलोपालो नेतृत्वको सहमति कार्यान्वयन नभएपछि प्रदेश सरकारको समीकरण फेरिने सम्भावना बढेको छ। नेकपाले भने प्रदेश सरकारमा सहभागी हुने विषयमा अझै औपचारिक निर्णय नगरेको जनाएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाबाट स्वदेश फर्किएपछि यसबारे निर्णय हुने उनको सचिवालयले जनाएको छ।
संयोजक प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार नेकपाले तीन विकल्प अघि सारेको छ। पहिलो, कांग्रेस, एमाले, नेकपा र मधेसी दलहरू मिलेर सातै प्रदेशमा सहमतिको सरकार गठन हुनुपर्ने। दोस्रो, कांग्रेस–एमालेबीचको पूर्वसहमति औपचारिक रूपमा समाप्त भएको घोषणा भएपछि मात्र आवश्यक निर्णय गर्ने। तेस्रो, सरकार गठन नै हुन नसक्ने अवस्था आए सम्बन्धित प्रदेश समितिलाई परिस्थिति अनुसार निर्णय गर्ने अधिकार दिने।
नेकपाले सरकार बनाउने वा भत्काउने राजनीति नगर्ने र सानो तथा सहमतिमा आधारित मन्त्रिपरिषद्, सुशासन र साझा सहमतिका आधारमा मात्र सरकारमा सहभागी हुने अडान दोहोर्याएको छ। यसबीच कांग्रेस–एमालेबीच प्रदेश सरकारको नेतृत्व परिवर्तनसम्बन्धी सहमति कार्यान्वयनमा विवाद देखिएको छ।
सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारबाट एमालेका मन्त्री बर्खास्त भइसकेका छन् भने एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। प्रदेश सरकार गठनमा निर्णायक मानिएको नेकपाको धारणा सार्वजनिक भएपछि नयाँ राजनीतिक समीकरण स्पष्ट हुने अपेक्षा गरिएको छ।







