रास्वपाले सार्वजनिक गर्यो नयाँ पदाधिकारी र केन्द्रीय सदस्यको वरीयता
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको नामावली आफ्नो आधिकारिक वेबसाइटमा अद्यावधिक गरेको छ।
चितवनमा असार ७ देखि १२ गतेसम्म सम्पन्न पहिलो महाधिवेशनबाट रास्वपामा ७ पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। अद्यावधिक गरिएको वरीयतामा सभापति रवि लामिछाने पहिलो स्थानमा छन्। त्यसपछि उपसभापति डा. स्वर्णिम वाग्ले दोस्रो र महिला उपसभापति सोविता गौतम तेस्रो स्थानमा छन्।
महामन्त्री विपिनकुमार आचार्य चौथो, सहमहामन्त्री असिम शाह पाँचौँ, सहमहामन्त्री हरि ढकाल छैटौँ र महिला सहमहामन्त्री निशा डाँगी सातौँ वरीयतामा छन्। केन्द्रीय सदस्यतर्फ शिशिर खनाल आठौँ, सागर ढकाल नवौँ, डा. तोसिमा कार्की १०औँ, रञ्जु दर्शना ११औँ र निवर्तमान प्रवक्ता मनिष झा १२औँ वरीयतामा रहेका छन्। निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी भने १३औँ स्थानमा छन्।
विवेकशील साझा पार्टीकी पूर्वअध्यक्ष समीक्षा बास्कोटा २७औँ र निवर्तमान कोषाध्यक्ष लिमा अधिकारी ३३औँ वरीयतामा छन्। हाल रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय रहेको छ। यसमध्ये एक वरिष्ठ नेता, ११ पदाधिकारीसहित ५१ जना मनोनित गर्न बाँकी रहेको पार्टीले जनाएको छ।







