मधेश प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार कायम रहने दाबी

User Image Prime TV News ५ दिन अगाडि
Image of मधेश प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार कायम रहने दाबी

जनकपुर । अन्य प्रदेशमा कांग्रेस-एमाले सत्ता समीकरण फेरबदलको चर्चा भइरहे पनि मधेश प्रदेशमा भने नेपाली कांग्रेस नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ।

मधेशमा कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकारमा कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी सहभागी छन्। कांग्रेस केन्द्रको निर्णयले अन्य प्रदेशमा राजनीतिक हलचल ल्याए पनि मधेशमा तीन दलबीच सरकारलाई निरन्तरता दिने सहमति भएको नेताहरूले बताएका छन्।

मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव र अर्थमन्त्रीसमेत रहेका नेकपा संसदीय दलका नेता युवराज भट्टराईबीच सरकारको निरन्तरताबारे छलफल भएको थियो। गत १२ जेठमा सरकार विस्तारअघि तीन दलबीच निर्वाचनसम्मै गठबन्धन कायम राख्नेसहित १५ बुँदे सहमति भएको थियो।

एमाले संसदीय दलका नेता सरोज यादवले प्रदेश तहमा तीन दलबीच कुनै समस्या नरहेको भन्दै सरकारबाट बाहिरिने अवस्था नरहेको बताए। उनले केन्द्रको राजनीतिक घटनाक्रमलाई प्रदेशमा सिधै लागू गर्न आवश्यक नरहेको उल्लेख गर्दै विगतमा पनि केन्द्र र प्रदेशमा फरक राजनीतिक समीकरणको अभ्यास भएको बताए।

यस्तै, नेकपा संसदीय दलका नेता युवराज भट्टराईले मधेश प्रदेश सरकार फरक परिस्थितिमा बनेकाले अन्य प्रदेशको राजनीतिक प्रभाव नपर्ने दाबी गरे। हालै प्रदेश सरकारले ल्याएको बजेटसमेत सर्वसम्मत रूपमा पारित भएको भन्दै सरकारलाई निरन्तरता दिने विषयमा छलफल भएको उनले बताए।

मधेश प्रदेशमा कृष्णप्रसाद यादव गत १९ मंसिरमा कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादीका ७७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए।