बाढीपहिरोका कारण पोखराको पर्यटनमा प्रत्यक्ष असर
Prime TV News ११ महिना अगाडि 
पोखरा । दसैँको समयमा देशभर आएको बाढीपहिरोका कारण पोखराको पर्यटनमा प्रत्यक्ष असर परेको छ।
मौसम विभागको पूर्वानुमानसँगै सम्भाव्य जोखिमलाई दृष्टिगत गरी असोज १८ गतेदेखि २० गतेसम्म गरिएको अत्यावश्यक बाहेकका सार्वजनिक यातायात सञ्चालनमा रोक एवम् देशका विभिन्न स्थानमा परेको पानीका कारण पर्यटकको आगमन प्रभावित बनेको हो।
यस अघिका वर्षमा दसैँको टीका सकिएसँगै पोखरा घुम्न आउने पर्यटकका कारण पोखराका होटेलमा कुल क्षमताको ८० प्रतिशतभन्दा बढी भरिभराउ हुने गरेकोमा यसवर्ष सो सङ्ख्या घटेर ३० प्रतिशतमा सीमित भएको होटेल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।
दसैँको टीका लगाएसँगै पूर्णिमासम्म बिदा हुने भएकोले देशका विभिन्न भागबाट बिदाको उपयोग गर्न पारिवारिक भ्रमणमा पोखरा आउने प्रचलन अत्याधिक रहेको उनले बताए। अघिल्ला वर्षहरूमा दसैँपछि कोजाग्रत पूर्णिमाको दिनमा त यहाँका होटेलमा कोठा नै पाउन मुस्किल हुन्थ्योु, उनले भने, यस वर्ष त अधिकांश होटेलहरूमा पर्यटकको सङ्ख्या अत्यन्त न्यून रहेको छ। रासस







