प्रधानमन्त्री शाह र राप्रपा नेतृत्वबीच भेट, समसामयिक राजनीति र संविधान संशोधनबारे छलफल
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहितको टोलीबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको करिब एक घण्टाको छलफलमा समसामयिक राजनीतिक घटनाक्रम, संविधान संशोधन, किसानका समस्या, स्वास्थ्य बीमा तथा सुकुमवासी व्यवस्थापनलगायत विषयमा कुराकानी भएको राप्रपाकी केन्द्रीय सदस्य तथा सांसद खुश्बु ओलीले जानकारी दिइन्।
ओलीका अनुसार राप्रपाले किसानले मल नपाएको, सुकुमवासी व्यवस्थापनमा देखिएका समस्या र स्वास्थ्य बीमा कार्यक्रमका कारण नागरिकले भोगेका कठिनाइबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो।
प्रधानमन्त्री शाहले मल आयातको प्रक्रिया अघि बढेको, स्वास्थ्य बीमा कार्यक्रमका बाँकी भुक्तानी र व्यवस्थापनका समस्या समाधान गरेर कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने तयारी भइरहेको तथा सुकुमवासी व्यवस्थापनका काम पनि अगाडि बढिरहेको जानकारी दिएका थिए।
संविधान संशोधनका विषयमा प्रधानमन्त्रीले सबै पक्षका धारणा समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको ओलीले बताइन्। उनले असिम शाहको नेतृत्वमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने काम मात्र भइरहेको र संशोधन प्रक्रिया सबैको सहभागितामा अघि बढाइने प्रधानमन्त्रीको भनाइ रहेको बताइन्।
भेटमा राप्रपाले संविधान संशोधनबारे आफ्नो धारणा पुनः राख्नुका साथै प्रधानमन्त्री, राजनीतिक दल र सांसदहरूबीच नियमित संवादको वातावरण बनाउन सुझाव दिएको जनाएको छ। साथै, ‘जेनजी’ आन्दोलनसँग सम्बन्धित विषयको समाधानका लागि पनि आवश्यक पहल गर्न आग्रह गरिएको बताइएको छ।







