सर्वोच्चको आदेशपछि पूर्वसांसद लक्ष्मी महतो कोइरी थुनामुक्त हुने

User Image Prime TV News ५ दिन अगाडि
Image of सर्वोच्चको आदेशपछि पूर्वसांसद लक्ष्मी महतो कोइरी थुनामुक्त हुने

काठमाडौ । सर्वोच्च अदालतले नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सरकारका नाममा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको छ।

न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार उक्त आदेश जारी गरेको हो। आदेशको प्रति सोही दिन महोत्तरीस्थित जलेश्वर कारागार कार्यालयमा पठाइएको छ। कोइरीका छोरा मनोजकुमार महतोले आफ्नो बुबालाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

पूर्वसांसद कोइरी २०७२ सालको मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विक हत्या प्रकरणमा दोषी ठहर भएका थिए। उच्च अदालत जनकपुरले असार १७ गते उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। त्यसपछि असार १८ गते पक्राउ परेका कोइरीलाई जलेश्वर कारागार पठाइएको थियो।

रिटमा पाँच वर्ष वा सोभन्दा कम कैद सजाय भएका मुद्दामा पुनरावेदनका क्रममा थुनाबाहिरै बस्न पाउने कानुनी व्यवस्था हुँदाहुँदै कोइरीलाई पक्राउ गरी थुनामा राखिएको दाबी गरिएको थियो। सर्वोच्चले सोही आधारमा उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।