संविधान संशोधन बहसपत्रको प्रतिवेदन सरकारलाई बुझाइयो
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ।
प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले बुधबार प्रतिवेदन पेस गरेको हो । सरकारले २०८२ चैत १३ गते सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी सयबुँदे कार्यसूचीअनुसार संविधान संशोधनका विषयमा राष्ट्रिय सहमति निर्माण गर्ने उद्देश्यले कार्यदल गठन गरिएको थियो।
सोहीअनुसार २०८२ चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको थियो। कार्यदलले २०८२ चैत २५ गतेदेखि काम सुरु गरी थपिएको समयसीमाभित्र प्रतिवेदन तयार पारेको जनाएको छ। प्रतिवेदन तयार गर्ने क्रममा २२ वटा औपचारिक बैठक तथा विभिन्न अनौपचारिक छलफल सम्पन्न गरिएको थियो।
कार्यदलका अनुसार पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, संविधानविद्, कानुनविद्, पूर्वन्यायाधीश, पूर्वमहान्यायाधिवक्ता, पूर्वकानुन सचिव, पूर्वप्रशासक, महिला प्रतिनिधि, सञ्चारकर्मी तथा निजी क्षेत्रका प्रतिनिधिसहित १८४ जना विज्ञसँग प्रत्यक्ष परामर्श गरिएको छ।
यस्तै, संवैधानिक निकाय, महान्यायाधिवक्ताको कार्यालय, प्रदेश तथा स्थानीय सरकार, नेपाल बार एशोसिएसन, धार्मिक संघसंस्था लगायत १५० भन्दा बढी संस्था तथा निकायबाट लिखित सुझाव संकलन गरिएको कार्यदलले जनाएको छ।
आम नागरिकको सहभागिता सुनिश्चित गर्न वेबसाइटमार्फत सार्वजनिक सूचना जारी गरिएको थियो। त्यसक्रममा स्वदेश तथा विदेशमा रहेका नेपालीबाट इमेल, ह्वाट्सएप, टेलिफोन तथा अन्य विद्युतीय माध्यममार्फत ४४ हजार ६१३ वटा सुझाव प्राप्त भएको उल्लेख गरिएको छ।
कार्यदलले संविधान निर्माणसँग सम्बन्धित ऐतिहासिक दस्तावेज, संविधानसभा समितिका प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास तथा न्यायिक नजिरहरूको अध्ययन गर्दै प्राप्त सुझावलाई २० वटा विषयगत क्षेत्रमा वर्गीकरण गरी कार्यकारी सारांशसहितको प्रतिवेदन तयार गरेको जनाएको छ।







