म्यानमार नजिक शरणार्थी बोकेका दुई डुंगा डुबेको आशंका, ५०० भन्दा बढीको मृत्यु हुन सक्ने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । म्यानमारको तटनजिकै शरणार्थी बोकेका दुईवटा डुंगा डुबेको आशंका गरिएको छ। ती डुंगामा सवार ५०० भन्दा बढी मानिसको मृत्यु भएको हुन सक्ने अन्तर्राष्ट्रिय निकायहरूले जनाएका छन्।
अन्तर्राष्ट्रिय बसाइँसराइ संगठन (आईओएम) र संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले संयुक्त विज्ञप्ति जारी गर्दै प्रारम्भिक जानकारीअनुसार दुवै डुंगा जुन महिनाको अन्त्यतिर म्यानमारको रखाइन राज्यबाट प्रस्थान गरेको र अधिकांश यात्रु रोहिंग्या समुदायका रहेको बताएका छन्।
संयुक्त राष्ट्रसंघका एजेन्सीहरूका अनुसार करिब २५० जना सवार पहिलो डुंगा यात्रा सुरु गरेको केही समयमै सम्पर्कविहीन भएको थियो। त्यस्तै, करिब २८० यात्रु बोकेको दोस्रो डुंगा जुलाई ८ मा डुबेको आशंका गरिएको छ।
यस वर्ष मात्रै बंगालको खाडी र अन्डमान सागर क्षेत्रमा रोहिंग्या शरणार्थी तथा बंगलादेशी नागरिकसहित करिब ३०० जना बेपत्ता भएको वा मृत्यु भएको विवरण प्राप्त भएको पनि संयुक्त राष्ट्रसंघका निकायहरूले उल्लेख गरेका छन्।
सन् २०१७ मा म्यानमारको सेनाले रखाइन राज्यमा सञ्चालन गरेको सैन्य अभियानपछि लाखौँ रोहिंग्या विस्थापित भएका थिए। त्यसयता सात लाखभन्दा बढी रोहिंग्याले छिमेकी बंगलादेशमा शरण लिइसकेका छन्।
म्यानमार सरकारले रोहिंग्या समुदायमाथि दुर्व्यवहार गरेको आरोप अस्वीकार गर्दै आएको छ। तर, उनीहरूलाई देशको नागरिकका रूपमा मान्यता भने अझै दिएको छैन।







