अर्थमन्त्रीको सचिवालयको अपिल: सेयर बजारबारे भ्रामक हल्लामा नलाग्न आग्रह

User Image Prime TV News एक महिना अगाडि
Image of अर्थमन्त्रीको सचिवालयको अपिल: सेयर बजारबारे भ्रामक हल्लामा नलाग्न आग्रह

काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो दिन अपिल जारी गर्दै सेयर बजारबारे फैलाइएका भ्रामक र प्रायोजित हल्लाप्रति सचेत रहन लगानीकर्तालाई आग्रह गरेको छ।

सचिवालयले नियमनकारी निकायमार्फत सेयर बजार सुधारका योजनाबद्ध काम अघि बढिरहेको जनाएको छ। साथै, नियमनकारी निकायलाई प्रभावमा पारेर बजारमा अव्यवस्था सिर्जना गर्ने प्रयास गर्नेहरू अनुसन्धानको दायरामा रहेको उल्लेख गरेको छ।

बजारमा केही व्यक्तिलाई पक्राउ गर्न लागिएको वा अनुसन्धान भइरहेको भन्ने हल्ला निराधार र प्रायोजित भएको सचिवालयको भनाइ छ। सरकारले हल्लाका आधारमा नभई कानुनी प्रक्रिया अनुसार काम गरिरहेको स्पष्ट पारिएको छ।

सचिवालयले क्लब हाउस, ह्वाट्सएप वा म्यासेन्जर समूह, स्वयंघोषित बजार विश्लेषक तथा अनधिकृत स्रोतबाट आउने सूचनामा विश्वास नगर्न र आधिकारिक सरकारी निकायबाट जानकारी लिएर मात्र लगानी सम्बन्धी निर्णय गर्न सुझाव दिएको छ।

साथै, अर्थतन्त्रका सूचकहरू सकारात्मक दिशामा रहेको, बजारमा पर्याप्त तरलता, घट्दो ब्याजदर, स्थिर सरकार तथा नियमनकारी निकायमा विज्ञ र इमानदार व्यक्तिको नियुक्तिलगायत कारणले आर्थिक अवस्था सुधारोन्मुख रहेको दाबी पनि सचिवालयले गरेको छ।