‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीत बन्द गर्न शिक्षक महासंघको माग

User Image Prime TV News एक महिना अगाडि
Image of ‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीत बन्द गर्न शिक्षक महासंघको माग

काठमाडौ । नेपाल शिक्षक महासंघले चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतले शिक्षक र शिक्षण पेसाको गरिमामा आघात पुगेको भन्दै उक्त गीत तत्काल बन्द गर्न माग गरेको छ।

शुक्रबार जारी विज्ञप्तिमा महासंघले गीतमा महिला शिक्षकप्रति अमर्यादित शब्द र भाव प्रयोग गरिएको उल्लेख गर्दै यसलाई चलचित्रमा समेत प्रयोग नगर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ। महासंघले गीत नहटाइए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी चलचित्रका निर्माता र कलाकारले लिनुपर्ने चेतावनी पनि दिएको छ।

दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको उक्त गीतमा प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान देशराज जोशी र आर्यन सिग्देलको अभिनय रहेको छ। भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘मास्टर्नी’ को निर्माण तथा कथा प्रियंका कार्कीको हो भने चलचित्रको निर्देशन बंगाली निर्देशक सुभेन्दु घोषले गरेका छन्।

चलचित्रमा मुख्य भूमिकामा पनि प्रियंका कार्की नै रहेकी छन्।