पेलेको १९५८ विश्वकप फाइनलको जर्सी ४.९ मिलियन डलरमा बिक्री
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । ब्राजिलका महान् फुटबलर पेलेले सन् १९५८ को विश्वकप फाइनलमा लगाएको जर्सी न्यूयोर्कस्थित सोथबिजको लिलामीमा ४९ लाख अमेरिकी डलर (करिब ७४ करोड रुपैयाँ) मा बिक्री भएको छ।
यो फुटबल इतिहासमा बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी बनेको छ। यसअघि सन् १९८६ को विश्वकपमा अर्जेन्टिनाका डिएगो म्याराडोनाले ‘ह्यान्ड अफ गड’ गोल गर्दा लगाएको जर्सी सन् २०२२ मा ७१ लाख पाउन्डमा बिक्री भएको थियो, जुन अहिलेसम्मकै सबैभन्दा महँगो फुटबल जर्सी हो।
पेलेको जर्सीका लागि पाँचभन्दा बढी बोलकबोलकर्ताले १० चरणसम्म प्रतिस्पर्धात्मक बोली लगाएका थिए। यही जर्सी सन् २००४ मा १ लाख ५ हजार ६ सय अमेरिकी डलरमा बिक्री भएको थियो। सन् १९५८ को विश्वकप फाइनलमा १७ वर्षीय पेलेले स्वीडेनविरुद्ध दुई गोल गर्दै ब्राजिललाई पहिलो पटक विश्वकप उपाधि दिलाएका थिए। विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान पनि अझै उनकै नाममा छ।
सोथबिजका खेलकुद रणनीति प्रमुख ब्रेन्डन हक्सले यो जर्सीलाई पेलेको ऐतिहासिक विरासत र विश्व फुटबलमा उनको उदयको प्रतीक भएको बताएका छन्। उक्त लिलामीमा अन्य ऐतिहासिक खेल सामग्री पनि बिक्री भएका छन्।
म्याराडोनाले सन् १९८६ को विश्वकपमा इङ्गल्याण्डविरुद्ध लगाएको कप्तानी आर्मब्यान्ड ५ लाख १२ हजार डलरमा बिक्री भएको छ भने लियोनेल मेसीले सन् २०१७ मा बार्सिलोनाका लागि पिएसजीविरुद्धको ऐतिहासिक ६–१ जितका क्रममा लगाएको जर्सी २ लाख १७ हजार ६ सय डलरमा बिक्री भयो। त्यसैगरी, डेभिड बेकह्यामले सन् २००२ मा आफ्नो ५०औँ अन्तर्राष्ट्रिय खेलमा लगाएको जर्सी ५१ हजार २ सय डलरमा बिक्री भएको छ।







