साताको अन्तिम कारोबारमा सेयर बजार ७९ अंकले बढ्यो

User Image Prime TV News एक महिना अगाडि
Image of साताको अन्तिम कारोबारमा सेयर बजार ७९ अंकले बढ्यो

काठमाडौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार सूचक उल्लेख्य रूपमा बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९.७४ अंकले वृद्धि हुँदै २६७७.५४ विन्दुमा पुगेको छ।

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाएर ८० प्रतिशतसम्म ऋण लिन सकिने व्यवस्था गरेपछि लगानीकर्ताको आकर्षण बढेको बजार विश्लेषकहरूले बताएका छन्। शुक्रबार कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ। नेप्सेका अनुसार २५९ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने १३ कम्पनीको मूल्य घटेको छ।

दुई कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। बजार बढे पनि कारोबार रकम भने ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ। दिनभर १ करोड ३ लाख ८९ हजार कित्ता सेयर ५८ हजार ९४ पटक कारोबार भएको छ। श्रीनगर एग्रोटेकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य १२५ रुपैयाँले बढेर प्रतिकित्ता ९६३ रुपैयाँ पुगेको छ।

शुक्रबार सूर्यकुन्ड हाइड्रो, शिखर पावर, रिजलाइन इनर्जी र मिड सोलु हाइड्रोलगायत कम्पनी उच्च कमाउने सूचीमा रहेका छन्। समूहगत परिसूचकतर्फ म्युचुअल फन्ड समूह ०.२९ प्रतिशतले घटेको छ भने बाँकी १२ वटा समूहको परिसूचक वृद्धि भएको नेप्सेले जनाएको छ।