देउवा लडेर हात भाँचिएको समाचार गलत भएको सचिवालयको स्पष्टोक्ति
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लडेर हात भाँचिएको भन्ने समाचार गलत भएको उनको सचिवालयले जनाएको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै देउवाको सचिवालयले सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा फैलिएका उक्त समाचारलाई अपुष्ट, आधारहीन र भ्रामक भन्दै खण्डन गरेको हो। “आदरणीय पूर्वप्रधानमन्त्रीज्यू लडेर हात भाँचिएको छ भन्ने आशयका अपुष्ट, आधारहीन तथा भ्रामक समाचारहरू फैलाइएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” सचिवालयले भनेको छ।
सचिवालयले देउवा नलडेको र उनको हात नभाँचिएको स्पष्ट पार्दै फैलाइएको समाचार पूर्ण रूपमा असत्य र निराधार रहेको जनाएको छ। आधिकारिक पुष्टि नभएका सूचना तथा हल्ला फैलाउँदा समाजमा भ्रम सिर्जना हुने भन्दै सचिवालयले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई कुनै पनि समाचार साझा गर्नुअघि तथ्य जाँच गर्न आग्रह गरेको छ।
“तथ्यमा आधारित, जिम्मेवार र विश्वसनीय सूचना प्रवाह गरौँ, अफवाह र भ्रम फैलाउने कार्यबाट टाढा रहौँ,” सचिवालयले आग्रह गरेको छ।







