देउवा दम्पती साउन २९ गते नेपाल फर्किने तयारीमा
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । जेनजी आन्दोलनका क्रममा घाइते भएपछि उपचारका लागि सिंगापुर पुगेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा आगामी साउन २९ गते नेपाल फर्किने तयारीमा रहेको बताइएको छ।
देउवा निकट स्रोतका अनुसार स्वास्थ्य अवस्था सुधार हुँदै गएपछि उनीहरू अगस्ट १४ अर्थात् साउन २९ गते स्वदेश फर्किने योजना बनाएका हुन्। “स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी प्राप्त भएको छ। अहिलेसम्मको अवस्थामा अगस्ट १४ मा नेपाल फर्किने तयारी छ,” देउवा निकट स्रोतले जनाएको छ।
जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि आक्रमण भएको थियो। त्यसपछि उनीहरू उपचारका लागि सिंगापुर गएका थिए। यसैबीच, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवालाई अनुसन्धानका क्रममा बयानका लागि उपस्थित हुन सूचना जारी गरेको छ। विभागले उनको निवासमा सातदिने म्यादसम्बन्धी सूचना टाँसेको थियो।
त्यस्तै, देउवाका छोरा जयवीर देउवालाई पनि अनुसन्धानका क्रममा उपस्थित हुन विभागले सूचना जारी गरेको छ। उनी हाल श्रीमतीसहित बेलायतमा रहेको बताइएको छ। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार सम्पर्कमा नरहेका व्यक्तिका हकमा विभागले निश्चित अवधिको म्याद दिएर सूचना जारी गर्न सक्ने व्यवस्था छ।
तोकिएको समयभित्र उपस्थित नभए कानुनी प्रक्रियाअनुसार थप कारबाही अघि बढ्न सक्नेछ।







