डा. पाण्डेको निधनप्रति गगन थापाको श्रद्धाञ्जली, ‘राष्ट्रले प्रखर बौद्धिक व्यक्तित्व गुमायो’

User Image Prime TV News एक महिना अगाडि
Image of डा. पाण्डेको निधनप्रति गगन थापाको श्रद्धाञ्जली, ‘राष्ट्रले प्रखर बौद्धिक व्यक्तित्व गुमायो’

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रको सजग पहरेदार गुमाएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाले नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाको पक्षमा डा. पाण्डे जीवनभर निर्भीकतापूर्वक उभिएको उल्लेख गरेका छन्।

थापाले नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक मोडहरूमा डा. पाण्डेले नागरिक तहबाट संघर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध सशक्त आवाज उठाएको र नयाँ पुस्तालाई निरन्तर प्रेरणा दिएको बताएका छन्।

उनले अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा डा. पाण्डेले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टिकोण प्रदान गरेको उल्लेख गरेका छन्।

थापाले सार्वजनिक जीवनमा डा. पाण्डेले देखाएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासतका रूपमा रहने विश्वास व्यक्त गरेका छन्।

साथै सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको पक्षमा उनले खेलेको भूमिका विशेष रूपमा स्मरणीय रहने उल्लेख गर्दै उनले प्रज्वलित गरेको नागरिक चेतना र बौद्धिक सम्पदाले आगामी पुस्तालाई मार्गदर्शन गरिरहने बताएका छन्।