आज र भोलि भारी वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह
Prime TV News एक महिना अगाडि 
काठमाडौ । जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले जारी गरेको विशेष बुलेटिनअनुसार मनसुनी प्रणाली थप सक्रिय हुने भएकाले देशका हिमाली तथा पहाडी भूभाग, कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। देशभरका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र मध्यम खालको वर्षा हुने सम्भावना पनि औँल्याइएको छ।
विभागका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तर–पश्चिमतर्फ सर्ने क्रममा रहेकाले मनसुन अझ सक्रिय बन्ने अवस्था देखिएको हो।
सम्भावित भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, बाढी, पहिरो र डुबानको जोखिम रहने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।







