पौडेल विरुद्धको मुद्दापछि रास्वपा सांसद न्यौपानेको टिप्पणी-‘न्यायालय पुनर्संरचना बिना सुशासन सम्भव छैन’
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध चलाइएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि कानुन व्यवसायीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले न्यायालयको कामकारबाहीबारे समीक्षा गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।
न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत न्यायालय पुनर्संरचना नगरी सुशासन र भ्रष्टाचार अन्त्य गर्न नसकिने दाबी गरेका हुन्। उनले पछिल्ला केही घटनाक्रमले न्यायालयको संरचना र भूमिकाबारे गम्भीर समीक्षा गर्ने समय आएको उल्लेख गरेका छन्। न्यायालयको विषयमा निर्ममतापूर्वक समीक्षा गर्न ढिला गर्न नहुने उनको भनाइ छ।
न्यौपानेले राज्यका सबै निकायले परिवर्तनलाई आत्मसाथ गर्न सके मात्रै देश परिवर्तन सम्भव हुने बताएका छन्। उनले आफ्नो धारणा आवेगमा नभई गम्भीर समीक्षाबाट आएको निष्कर्ष भएको समेत उल्लेख गरेका छन्।
विशेष अदालतले पौडेललाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएपछि उक्त विषयमा विभिन्न राजनीतिक तथा कानुनी बहसहरू भइरहेका छन्।







