विश्वकप फाइनलमा मेसीलाई रोक्नु ठूलो चुनौती : मिकेल मेरिनो
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । स्पेनका मिडफिल्डर मिकेल मेरिनोले विश्वकप फाइनलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई रोक्नु आफ्नो टोलीका लागि निकै ठूलो चुनौती हुने बताएका छन्।
न्यू जर्सीको इस्ट हानोभरस्थित प्रशिक्षण शिविरमा सञ्चारकर्मीसँग कुरा गर्दै मेरिनोले साविक विजेता अर्जेन्टिनाविरुद्ध खेल्न पाउनु आफ्ना लागि र टोलीका लागि ठूलो प्रेरणा भएको बताए।
‘यो हाम्रो टोलीका लागि ठूलो चुनौती र अविश्वसनीय प्रेरणा हो। विश्वकप जितिसकेको अर्जेन्टिनाजस्तो टोलीसँग फाइनल खेल्नु विशेष अवसर हो,’ उनले भने।
३९ वर्षीय मेसीले जारी विश्वकपमा अर्जेन्टिनालाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन्। उनले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को जित निकाल्ने क्रममा दुई गोलका लागि अवसर सिर्जना गरेका थिए। आठ गोलसहित उनी प्रतियोगिताका सर्वाधिक गोलकर्तामध्ये एक छन्।
यसअघि अन्तिम १६ मा इजिप्टविरुद्ध पनि मेसीले अर्जेन्टिनाको पुनरागमनमा निर्णायक भूमिका खेलेका थिए। उक्त खेलमा अर्जेन्टिना २–० ले पछि परेको अवस्थाबाट फर्केर ३–२ को जित निकाल्न सफल भएको थियो।
स्पेनका प्रभावशाली विकल्प खेलाडी मेरिनो
आर्सनलका मिडफिल्डर मेरिनोले पनि स्पेनको फाइनल यात्रामा महत्वपूर्ण योगदान दिएका छन्। उनले वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै अन्तिम १६ मा पोर्चुगल र क्वाटरफाइनलमा बेल्जियमविरुद्ध निर्णायक गोल गरेका थिए।
आफ्नो भूमिकाबारे बोल्दै मेरिनोले टोलीका लागि प्रभाव पार्ने आत्मविश्वास आफूमा रहेको बताए। तर व्यक्तिगत उपलब्धिभन्दा टोलीको सफलता महत्वपूर्ण हुने उनको भनाइ छ।
‘नायक को बन्छ भन्ने कुरा महत्वपूर्ण होइन। उपाधि जित्दा त्यसको श्रेय सुरुआती ११ खेलाडीलाई मात्र होइन, सम्पूर्ण टोलीलाई जान्छ,’ उनले भने।
मेरिनोले १९ वर्षीय स्पेनिस युवा स्टार लामिन यामलको पनि प्रशंसा गर्दै उनको क्षमता असाधारण रहेको बताए। फाइनलमा यामल र मेसीबीच हुने प्रतिस्पर्धालाई फुटबल समर्थकहरूले विशेष चासोका साथ हेरिरहेका छन्।
फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गर्दै मेरिनोले रेफ्रीले खेलको गति र फाउल नियन्त्रणमा ध्यान दिनुपर्ने बताए। उनका अनुसार छिटो पासिङ र बल नियन्त्रणले विपक्षीलाई फाउल गर्ने मौका कम दिनेछ।
सन् २०१० मा स्पेनले पहिलो पटक विश्वकप जित्दा आफू सानो भएकाले त्यसको धेरै सम्झना नरहेको उल्लेख गर्दै मेरिनोले उक्त टोलीप्रति आफूमा ठूलो सम्मान रहेको बताए।
‘आज हामी आफ्नो देशको प्रतिनिधित्व गर्दै नयाँ पुस्ताका बालबालिकाका लागि प्रेरणाको स्रोत बन्न पाउनु निकै विशेष अनुभव हो,’ उनले भने।







