भारी वर्षाको जोखिमबीच काठमाडौं प्रशासनद्वारा यात्रा सावधानी अपनाउन आग्रह

User Image Prime TV News एक महिना अगाडि
Image of भारी वर्षाको जोखिमबीच काठमाडौं प्रशासनद्वारा यात्रा सावधानी अपनाउन आग्रह

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मनसुन सक्रिय भएसँगै भारी वर्षाको सम्भावना रहेको भन्दै काठमाडौं उपत्यकामा प्रवेश गर्ने तथा बाहिरिने यात्रुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले यात्रा सावधानी (ट्राभल अलर्ट) जारी गर्दै बाढी, पहिरो र सडक अवरोधको जोखिमलाई ध्यानमा राखेर यात्रा गर्नुअघि मौसम र सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको हो।

जारी सूचनामा विशेषगरी रातिको समयमा यात्रा गर्दा थप सावधानी अपनाउन, सडक अवरुद्ध भएको अवस्थामा सुरक्षित स्थानमा मात्र सवारी रोक्न तथा प्रहरी प्रशासनबाट बाटो सञ्चालनमा आएको यकिन भएपछि मात्रै यात्रा अघि बढाउन आग्रह गरिएको छ।

काठमाडौं उपत्यकाका सबै प्रमुख नाकाबाट आवतजावत गर्ने निजी तथा सार्वजनिक सवारीसाधनका चालक, सहचालक तथा यात्रुलाई जोखिमप्रति सचेत रहन प्रशासनले अनुरोध गरेको छ।

प्रशासनले मनसुनका कारण कुनै पनि बेला बाढी, पहिरो वा सडक अवरोध हुन सक्ने भएकाले अनावश्यक जोखिम नलिन र सम्बन्धित निकायबाट जारी हुने सूचना तथा निर्देशन पालना गर्न पनि आग्रह गरेको छ।