बाबुरामको सरकारलाई सुझाव– ‘सुशासन र समृद्धिमै केन्द्रित हुनुस्’
Prime TV News २ दिन अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले एकैपटक धेरै विषयमा ध्यान केन्द्रित गर्नुको सट्टा सुशासन र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले संविधान संशोधन लगायतका धेरै एजेन्डालाई एकैसाथ अघि बढाउँदा अपेक्षित परिणाम नआउन सक्ने संकेत गरेका छन्।
उनले ‘एकैचोटि धेरै चरा मार्न खोज्दा कुनै पनि चरा नमर्ने’ र ‘ठूलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने’ उखान उल्लेख गर्दै सरकारले प्राथमिकता स्पष्ट गर्नुपर्ने बताएका छन्।
भट्टराईले जनअपेक्षा बोकेर आएको वर्तमान सरकारले अहिलेको मुख्य चुनौती सुशासन स्थापना र आर्थिक समृद्धि हासिल गर्नु रहेको उल्लेख गरेका छन्। उनका अनुसार यही दुई क्षेत्रमा केन्द्रित भएर काम गर्दा सरकारको प्रभावकारिता बढ्नेछ।
उनले देशभित्रै प्रत्येक वर्ष ८ देखि १० लाख उत्पादनमूलक रोजगारी सिर्जना गर्ने वातावरण बनाउन आवश्यक सबै नीति र कार्यक्रम लागू गर्न सरकारलाई आग्रह गरेका छन्।
भट्टराईको भनाइ संविधान संशोधनसम्बन्धी सुझाव सार्वजनिक भइरहेका बेला आएको हो। उनले अहिलेका लागि जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।







