सोनम वाङ्चुकलाई अस्पताल लगाइएपछि सीजेपी संस्थापकले आमरण अनशन घोषणा

User Image Prime TV News २ दिन अगाडि
Image of सोनम वाङ्चुकलाई अस्पताल लगाइएपछि सीजेपी संस्थापकले आमरण अनशन घोषणा

काठमाडौ । ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले अनिश्चितकालीन आमरण अनशनमा बस्ने घोषणा गरेका छन्। सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई दिल्ली प्रहरीले जन्तर–मन्तरबाट हटाएर अस्पताल पुर्‍याएपछि उनले यस्तो निर्णय सार्वजनिक गरेका हुन्।

५९ वर्षीय वाङ्चुक गत जुन २८ देखि सीजेपीको समर्थनमा आमरण अनशनमा थिए। पार्टीले मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणको नैतिक जिम्मेवारी लिँदै भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको छ।

वाङ्चुकको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै दिल्ली उच्च अदालतले बिहीबार उनको जीवन बचाउन आवश्यक पर्ने चिकित्सकीय उपचार सुनिश्चित गर्न आदेश दिएको थियो। सोही आदेशको आधारमा शनिबार दिल्ली प्रहरीले उनलाई अस्पताल लगिएको जनाएको छ।

प्रहरीले अदालतको आदेशअनुसार आवश्यक प्रक्रिया पूरा गरेर वाङ्चुकलाई अस्पताल पुर्‍याइएको दाबी गरेको छ। प्रदर्शनका क्रममा केही व्यक्तिले प्रहरी कारबाही रोक्न खोज्दा सामान्य तनाव र धकेलाधकेल भएको पनि प्रहरीले जनाएको छ।

यता, सीजेपी संस्थापक दीपकेले भने प्रहरीले वाङ्चुकमाथि बल प्रयोग गरेको आरोप लगाएका छन्। उनले २० दिनदेखि आमरण अनशनमा रहेका व्यक्तिलाई जबर्जस्ती घिसारेर हटाइएको भन्दै त्यसको कडा आलोचना गरे।

वाङ्चुकलाई अस्पताल लगिएलगत्तै दीपकेले आफू पनि अनिश्चितकालीन आमरण अनशनमा बस्ने घोषणा गर्दै सरकारले आन्दोलन दबाउन खोजेको आरोप लगाए।

वाङ्चुककी पत्नी गीताञ्जली जे. आङ्मोले सामाजिक सञ्जालमार्फत आफू अस्पतालमा श्रीमान्सँगै रहेको जानकारी दिएकी छन्। उनले परिवार तथा चिकित्सकको सहमतिबिना वाङ्चुकलाई कुनै औषधि वा उपचार नदिन आग्रह गरेकी छन्।

पछिल्ला दिनहरूमा विभिन्न विपक्षी दलका नेताहरू जन्तर–मन्तर पुगेर वाङ्चुक र विद्यार्थी आन्दोलनप्रति ऐक्यबद्धता जनाइरहेका छन्। यद्यपि भारत सरकारले यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन।

आन्दोलनकारीहरूले संसद्को अधिवेशन सुरु हुने पहिलो दिन जन्तर–मन्तरबाट संसद् भवनसम्म मार्च गर्ने योजना बनाएका थिए। त्यसअघि नै प्रहरीले वाङ्चुकलाई हटाएपछि राजधानी दिल्लीको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ।

दीपकेले आन्दोलन अझ सशक्त रूपमा अघि बढाउने चेतावनी दिँदै संसद्तर्फको मार्चको कार्यक्रम यथावत् रहने बताएका छन्। सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै प्रशासनले जन्तर–मन्तर र आसपासका क्षेत्रमा अतिरिक्त प्रहरी तथा अर्धसैनिक बल परिचालन गरेको छ।