विश्वकप २०२६ फाइनलको टिकट ३५ करोड रुपैयाँसम्म, पुनर्बिक्री बजारमा मूल्य आकासियो

User Image Prime TV News २ दिन अगाडि
Image of विश्वकप २०२६ फाइनलको टिकट ३५ करोड रुपैयाँसम्म, पुनर्बिक्री बजारमा मूल्य आकासियो

काठमाडौ । अमेरिकाको न्युयोर्क–न्युजर्सी स्टेडियममा आइतबार हुने फिफा विश्वकप २०२६ को फाइनलअघि टिकटको मूल्यले नयाँ कीर्तिमान बनाएको छ।

खेल सुरु हुनुभन्दा २४ घण्टाभन्दा कम समय बाँकी रहँदा पुनर्बिक्री बजारमा एक टिकटको मूल्य २३ लाख अमेरिकी डलरसम्म (करिब ३५ करोड ५३ लाख नेपाली रुपैयाँ) पुगेको छ। लियोनेल मेसीको अर्जेन्टिना र लामिन यामलको स्पेनबीच हुने फाइनललाई अमेरिकाको इतिहासकै सबैभन्दा महँगो खेलकुद प्रतियोगितामध्ये एक मानिएको छ।

फिफाको आधिकारिक बिक्री प्लेटफर्ममा रहेका अधिकांश टिकट शुक्रबारसम्म बिक्री भइसकेका थिए भने शनिबारसम्म कुनै टिकट बाँकी रहेन। त्यसपछि पुनर्बिक्री बजारमा टिकटको मूल्य १० हजार डलरदेखि २३ लाख डलरसम्म पुगेको देखिएको छ। उच्च मूल्यका बाबजुद विश्वकपप्रति समर्थकको उत्साह भने कम भएको छैन।

फिफाका अनुसार समूह चरणका अधिकांश खेल पूर्ण रूपमा भरिएका थिए र प्रारम्भिक चरणमा उपलब्ध कुल सिटमध्ये ९९.७ प्रतिशत सिट भरिएको थियो। टिकट विशेषज्ञ स्कट फ्रिडम्यानले फिफाले समर्थकको माग सही रूपमा आकलन गर्दै टिकट व्यवस्थापन गरेकाले महँगो मूल्यमा पनि सबै टिकट बिक्री भएको बताए। उनका अनुसार १०४ वटै खेलका लागि समर्थकले अपेक्षाभन्दा बढी मूल्य तिर्न तयार देखिएका छन्।

यस विश्वकपमा फिफाले पहिलोपटक ‘डाइनामिक प्राइसिङ’ प्रणाली लागू गरेको थियो। यसअन्तर्गत टिकटको मूल्य वास्तविक समयको मागअनुसार बढ्ने वा घट्ने व्यवस्था गरिएको थियो। विशेषज्ञहरूले फिफाले टिकट चरणबद्ध रूपमा सार्वजनिक गर्दै कृत्रिम अभावको मनोवैज्ञानिक प्रभाव सिर्जना गरेको टिप्पणी गरेका छन्।

यद्यपि, महँगो टिकट र पुनर्बिक्री बजारमा भएको मूल्यवृद्धिले आलोचना पनि निम्त्याएको छ। मानवअधिकारसम्बद्ध संस्थाहरूले विश्वकप सामान्य समर्थकको पहुँचभन्दा टाढा पुगेको बताएका छन्। उनीहरूका अनुसार अमेरिका यात्रा, भिसा प्रक्रिया र अत्यधिक महँगो टिकटका कारण आर्थिक रूपमा सक्षम सीमित समर्थकले मात्र प्रतियोगिताको प्रत्यक्ष अनुभव गर्न सकेका छन्।