पश्चिम एसियाको तनावबीच अमेरिकाले आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह
Prime TV News २ दिन अगाडि 
काठमाडौ । अमेरिकाको विदेश मन्त्रालयले पश्चिम एसियामा बढ्दो तनावलाई मध्यनजर गर्दै विश्वभर रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मन्त्रालयले सुरक्षा अवस्था जटिल बन्दै गएको र परिस्थिति कुनै पनि बेला थप बिग्रन सक्ने चेतावनी दिएको हो। शनिबार जारी गरिएको विज्ञप्तिमा विशेषगरी पश्चिम एसियामा रहेका अमेरिकी नागरिकलाई स्थानीय सुरक्षा अवस्थाबारे नियमित जानकारी राख्न, स्थानीय सञ्चारमाध्यमको निगरानी गर्न तथा नजिकको अमेरिकी दूतावास वा वाणिज्य दूतावासबाट जारी हुने सुरक्षा निर्देशन पालना गर्न आग्रह गरिएको छ।
विदेश मन्त्रालयले क्षेत्रीय तनावका कारण अन्तर्राष्ट्रिय हवाई सेवा प्रभावित हुन सक्ने उल्लेख गर्दै उडान रद्द, ढिलाइ वा हवाई क्षेत्र अस्थायी रूपमा बन्द हुन सक्ने भएकाले यात्रा योजना बनाउँदा विशेष सावधानी अपनाउन सुझाव दिएको छ।
मन्त्रालयले विगतमा पश्चिम एसियाबाहिर पनि अमेरिकी दूतावास र कूटनीतिक कार्यालयहरू आक्रमणको निसानामा परेको स्मरण गराउँदै इरान समर्थित समूहहरूले विश्वका विभिन्न स्थानमा अमेरिकी नागरिक, संस्था वा अमेरिकी हितसँग सम्बन्धित संरचनालाई लक्षित गर्न सक्ने जोखिम रहेको जनाएको छ।
यो सुरक्षा चेतावनी अमेरिका–इरानबीचको तनाव पुनः चुलिएको अवस्थामा जारी गरिएको हो। गत महिना भएको युद्धविराम तथा वार्तासम्बन्धी सहमति कार्यान्वयन हुन नसकेपछि दुवै पक्षबीच सैन्य गतिविधि बढेको छ। अमेरिकाले इरानका केही सैन्य तथा नागरिक पूर्वाधारमाथि आक्रमण गरेको र त्यसको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डालाई मिसाइल तथा ड्रोनमार्फत निशाना बनाएको दाबी गरिएको छ।
क्षेत्रीय सुरक्षा अवस्था अनिश्चित बन्दै गएकाले अमेरिकी प्रशासनले आफ्ना नागरिकलाई आवश्यक सतर्कता अपनाउन र आधिकारिक सुरक्षा सूचनालाई निरन्तर पछ्याउन आग्रह गरेको छ।







