भारी वर्षाको जोखिम बढ्यो, सतर्क रहन मौसम विभागको आग्रह
Prime TV News २ दिन अगाडि 
काठमाडौ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।
विभागले आइतबार सूचना जारी गर्दै बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयजस्ता विपद्को जोखिम बढ्न सक्ने जनाएको हो। विभागका अनुसार कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
साथै बागमती प्रदेशका तराई क्षेत्र र मधेस प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
विभागले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सबै पक्षलाई सम्भावित जोखिमप्रति तयारी अवस्थामा रहन सुझाव दिएको छ।
काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना
मौसमविद्का अनुसार काठमाडौं उपत्यकामा आइतबार मौसम बदलीसँगै वर्षा हुने क्रम जारी रहनेछ। मौसमविद् डेभिड ढकालका अनुसार केही समय मौसम खुले पनि पुनः बदली भएर पानी पर्ने सम्भावना रहेको छ।
उनका अनुसार उपत्यकामा मध्यम वर्षाको सम्भावना रहे पनि केही स्थानमा भारी वर्षा हुन सक्ने अवस्था छ। मौसमविद्हरूका अनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी परेमा भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्म परेमा धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी वर्षा मानिन्छ।
विभागले नागरिकलाई मौसमसम्बन्धी पछिल्लो सूचना अद्यावधिक राख्न र नदी किनार, पहिरोको जोखिम भएका क्षेत्र तथा जोखिमयुक्त सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।







