पाँच दिने श्रीलंका भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिने श्रीलंका भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन्।
प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपाका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए। उनी १५ जुलाईमा श्रीलंका पुगेका थिए। भ्रमणका क्रममा प्रचण्डले इन्टरनेसनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए।
श्रीलंका बसाइका क्रममा उनले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक दलका नेताहरूसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए। उनले श्रीलंकाको कम्युनिस्ट पार्टीका महासचिव तथा पोलिटब्युरो सदस्यहरूसँग द्विपक्षीय छलफल गरेका थिए।
त्यस्तै, श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुना (जेभीपी) का महासचिव तिल्भिन सिल्भा तथा पार्टी पोलिटब्युरोसँग पनि उनले भेटवार्ता गरेका थिए। भ्रमणका क्रममा प्रचण्डले विभिन्न देशबाट सम्मेलनमा सहभागी भएका राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता तथा प्रगतिशील बौद्धिक व्यक्तित्वहरूसँग पनि भेटघाट गरेका थिए।
स्वदेश फर्किएपछि उनले भ्रमणका क्रममा भएका राजनीतिक भेटघाट र छलफलका विषयमा पार्टी पंक्तिलाई जानकारी गराउने जनाइएको छ।







