साउनको पहिलो सोमबार आज, पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
Prime TV News एक दिन अगाडि 
काठमाडौ । आज साउन महिनाको पहिलो सोमबार ।
भगवान् शिवको आराधनाका लागि विशेष मानिने यस दिन बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको उल्लेख्य भीड लागेको छ।
पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपतिनाथ मन्दिरका चारै वटा प्रवेशद्वार बिहान साढे ३ बजेदेखि नै दर्शनार्थीका लागि खुला गरिएको छ। भक्तजनको सहज आवागमनका लागि चार वटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ।
बिहानदेखि श्रद्धालुको आगमन बढे पनि दर्शनका लागि अत्यधिक लाम भने नरहेको कोषले जनाएको छ। कोषले दर्शनार्थीको सुविधाका लागि प्राथमिक उपचार, खानेपानी, सुरक्षा तथा अन्य आवश्यक व्यवस्थासमेत मिलाइएको जनाएको छ।
पशुपतिनाथसँगै काठमाडौं उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित मक्खन महादेवलगायत प्रमुख शिव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। देशका अन्य जिल्लाका शिवालयमा पनि श्रद्धालुहरू पूजा, आराधना र जलाभिषेकका लागि पुगेका छन्।
साउन र सोमबारको धार्मिक महत्त्व
हिन्दु धर्मावलम्बीका लागि साउन महिना भगवान् शिवलाई समर्पित मानिन्छ। सोमबार शिवजीको प्रिय बार भएकाले यस महिनाभर विशेष पूजा, व्रत र आराधना गर्ने परम्परा रहिआएको छ।
विशेषगरी अविवाहित युवतीहरूले योग्य जीवनसाथीको कामना गर्दै र विवाहित महिलाले परिवारको सुख, शान्ति तथा समृद्धिको कामना गर्दै साउने सोमबारको व्रत बस्ने चलन छ।
धार्मिक परम्पराअनुसार साउनको पहिलो सोमबारदेखि अन्तिम सोमबारसम्म व्रत बस्ने भक्तजनले अन्तिम सोमबार गोदान तथा पूर्णपात्र दान गरी व्रत समापन गर्ने प्रचलन रहेको छ।
व्रत बस्ने विधि
धार्मिक ग्रन्थहरूमा साउने सोमबार, सोह्र सोमबार र सोम प्रदोष गरी सोमबारका तीन प्रमुख व्रतको उल्लेख गरिएको छ। साउने सोमबारको व्रत सूर्योदयदेखि सुरु गरी दिनको तेस्रो प्रहरसम्म बस्ने चलन छ।
त्यसपछि भगवान् शिवको पूजा, आरती तथा व्रत कथा श्रवण गरी साँझ एकपटक सात्विक भोजन गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार श्रद्धापूर्वक साउने सोमबारको व्रत र शिव आराधना गर्दा मनोकामना पूरा हुने, पारिवारिक सुख–समृद्धि प्राप्त हुने तथा जीवनका विभिन्न बाधा–अवरोध हट्ने जनविश्वास रहेको छ।







