फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी
Prime TV News एक दिन अगाडि 
चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
आज बिहान करिब २ः२० बजे गएको पहिरोका कारण दुवैतर्फ सवारीसाधनको आवागमन रोकिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पहिरो हटाउने काम तीव्र रूपमा भइरहेको छ।
बिहान ९ बजेसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्यका साथ डोजर प्रयोग गरी पहिरो पन्छाउने कार्य भइरहेको उनले बताए । अत्यधिक वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले आइतबार राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड तथा पृथ्वी राजमार्गको चितवन क्षेत्र हुँदै चल्ने सवारीसाधनमा अस्थायी रोक लगाएको थियो।
प्रहरीका अनुसार पहिरो पूर्ण रूपमा हटाएपछि सडक पुनः सञ्चालन गरिनेछ। यसैबीच, नारायणगढ–मुग्लिन सडक हुँदै पोखरातर्फ गएका केही सवारीसाधन भने सुरक्षित अवस्थामा आफ्नो गन्तव्यतर्फ अघि बढिरहेको जनाइएको छ।
प्रशासनले वर्षा जारी रहेकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन चालक तथा यात्रुलाई आग्रह गरेको छ।







