पुर्व मन्त्री गुप्ता र श्रेष्ठसंग ७८ लाख रुपैयाँ बिगो मागदाबी

User Image Prime TV News ३ महिना अगाडि
Image of पुर्व मन्त्री गुप्ता र श्रेष्ठसंग ७८ लाख रुपैयाँ बिगो मागदाबी

काठमाडौ । पोखरा महानगरपालिका–१६ स्थित लिचीबारी जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। यस प्रकरणमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध मुद्दा दायर गरिएको हो।

अख्तियारले गुप्ता र श्रेष्ठसहित अन्य कर्मचारीहरूको भूमिकामा ७८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ। यस घोटालामा मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी, सुजनकुमार लामा, खमबहादुर पुन, याम कुमारी गुरुङ, तुल्सीराम बुढामगर लगायतका व्यक्तिहरूको संलग्नता रहेको आरोप छ।

यस प्रकरणमा घुसको लेनदेन र भूमाफियाको संलग्नता रहेको भन्दै पोखरा उद्योग वाणिज्य संघले यसलाई सम्पत्तिको हक र घरजग्गा कारोबारमा गम्भीर असर पर्ने घटनाका रूपमा लिएको छ।

अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि यस प्रकरणमा थप अनुसन्धान र कानूनी प्रक्रिया अघि बढ्ने बताइएको छ ।