प्रधानमन्त्री बालेन शाहले पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्ने
Prime TV News एक दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग सोमबार विशेष छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १२ बजे हुने छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल तथा नासा सेक्युरिटिजका सन्दीप जलान सहभागी हुने कार्यक्रम छ।
त्यसैगरी, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, प्रियाराज रेग्मी र अम्बिकाप्रसाद पौडेल पनि छलफलमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसायको विकास, बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका सम्भावना तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालासँग सुझाव र धारणा आदानप्रदान गरिनेछ।
सरकारले वित्तीय क्षेत्रलाई थप प्रभावकारी, पारदर्शी र लगानीमैत्री बनाउने उद्देश्यसहित विभिन्न सरोकारवालासँग निरन्तर संवादलाई प्राथमिकता दिँदै आएको छ।






