मदन पुरस्कार–२०८२ का लागि उत्कृष्ट १० कृति सार्वजनिक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका लागि उत्कृष्ट १० पुस्तकको सूची सार्वजनिक गरेको छ।
गुठीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष पुरस्कारका लागि प्राप्त २९८ पुस्तकमध्ये प्रारम्भिक छनोट गर्दै १० उत्कृष्ट कृति सार्वजनिक गरेको जनाएको हो। यी १० कृतिमध्ये एक पुस्तकलाई यस वर्षको मदन पुरस्कार प्रदान गरिनेछ।
छनोट भएका कृतिहरूमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’ तथा रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ रहेका छन्। त्यस्तै वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ पनि उत्कृष्ट १० को सूचीमा परेका छन्।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जारी गरेको विज्ञप्तिमार्फत उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरिएको हो। गुठीले साहित्यिक गुणस्तर, विषयवस्तु, सिर्जनात्मकता र नेपाली साहित्यमा योगदानलगायत आधारमा कृतिहरू छनोट गर्दै आएको जनाएको छ।







