जेनजी आन्दोलनबीच गृह मन्त्रालयको अपिल: ‘वार्तामार्फत समाधानमा आउनुहोस्’
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । देशमा जेनजी समूहले अर्को चरणको आन्दोलनको तयारी गरिरहेको बेला गृह मन्त्रालयले शान्ति, सुव्यवस्था र संवादलाई प्राथमिकता दिन सर्वसाधारणमा आग्रह गरेको छ।
मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नागरिकका माग र असन्तुष्टिहरू वार्ता तथा छलफलमार्फत समाधान गर्न सरकार सधैं सकारात्मक रहेको उल्लेख गरेको हो।
मन्त्रालयका सहसचिव आनन्द काफ्लेले हस्ताक्षर गरेको विज्ञप्तिमा नयाँ सरकार गठनसँगै मुलुकमा नयाँ राजनीतिक परिस्थिति विकास भएको उल्लेख छ।
सरकारले फागुन २१ गतेका लागि तय भएको निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्न वातावरण निर्माण गरिरहेको र शान्ति–सुरक्षालाई सामान्य अवस्थामा फर्काउन सक्रिय रहेको पनि विज्ञप्तिमा जनाइएको छ।
“देशमा शान्ति–सुरक्षा बहाली गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्नु सरोकारवाला निकाय र आम नागरिकको साझा जिम्मेवारी हो,” विज्ञप्तिमा भनिएको छ।
गृह मन्त्रालयले नागरिकलाई आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्ण तरिकाले अभिव्यक्त गर्न आह्वान गरेको छ।
आन्दोलन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रमहरू सभ्य, मर्यादित र शान्तिपूर्ण ढंगले गर्न अनुरोध गर्दै मन्त्रालयले समस्याको समाधानका लागि वार्ता र संवादलाई पहिलो विकल्प बनाउने स्पष्ट सन्देश दिएको छ।













