संसदीय सुनुवाइ समितिको बैठक आज, प्रमुख निर्वाचन आयुक्त र आयुक्त सिफारिस भएकाको उजुरी खोल्ने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।
बैठकको मुख्य कार्यसूचीमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका व्यक्तिहरूबारे प्राप्त उजुरी खोल्ने, ती उजुरी समिति सदस्यहरूलाई वितरण गर्ने तथा प्रस्तावित उम्मेदवारहरूले पेस गरेका कार्ययोजना पनि सदस्यहरूलाई उपलब्ध गराउने रहेको छ।
समिति सदस्यहरूले कार्ययोजना र उजुरीको अध्ययन गरेपछि सम्बन्धित उम्मेदवारहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइनेछ।
यसअघि असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गरेको थियो।
संवैधानिक व्यवस्था अनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्र राष्ट्रपतिबाट उनीहरूको औपचारिक नियुक्ति हुनेछ।







