देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

User Image Prime TV News २० घण्टा अगाडि
Image of देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशका पहाडी र हिमाली भूभागसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेस प्रदेश र कोशी प्रदेशको तराईमा आंशिक बदली छ। कर्णालीका केही तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही तथा मधेसका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, मधेस प्रदेश, कर्णालीका पहाडी क्षेत्र र सुदूरपश्चिमका पहाडी तथा तराईका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।