प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
Prime TV News ८ घण्टा अगाडि 
काठमाडौ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ।
मंगलबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित दुई निर्वाचन आयुक्तको सुनुवाइ साउन १२ गते र प्रस्तावित प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ साउन १३ गते गर्ने निर्णय गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।
बैठकमा प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूविरुद्ध प्राप्त उजुरी, उनीहरूले पेस गरेका कार्ययोजना तथा अन्य आवश्यक कागजातबारे छलफल भएको थियो।
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
समितिका सभापति श्रेष्ठका अनुसार सुनुवाइ समितिको बैठक साउन १२ र १३ गते बिहान ११:१५ बजे सिंहदरबारमा बस्नेछ। त्यसक्रममा प्रस्तावित पदाधिकारीहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइनेछ।







