विदेशीसँग विवाह गरेकै आधारमा वंशजको नागरिकता रोक्न नमिल्ने : सर्वोच्च
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । सर्वोच्च अदालतले विदेशी नागरिकसँग विवाह गरेको आधारमा मात्रै नेपाली बाबुआमाबाट जन्मिएकी महिलालाई वंशजको नागरिकताबाट वञ्चित गर्न नमिल्ने व्याख्या गरेको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले नेपाली नागरिक बाबु वा आमाबाट जन्मिएकी महिलाले विदेशीसँग विवाह गरे पनि आफ्नै वंशजको आधारमा नेपाली नागरिकता पाउने हक कायम रहने फैसला गरेको हो।
मकवानपुरकी सुकुमाया लामाले नागरिकता प्रमाणपत्र नपाएपछि दायर गरेको रिट निवेदनमाथि फैसला गर्दै सर्वोच्चले संविधानको धारा ११(२)(ख) अनुसार जन्म हुँदाका बखत बाबु वा आमा नेपाली नागरिक रहेको प्रमाणित भए वंशजको आधारमा नागरिकता पाउन सक्ने स्पष्ट पारेको छ।
नेपाल नागरिकता ऐन, २०६३ मा विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाको हकमा केही प्रतिबन्धात्मक व्यवस्था रहे पनि त्यसले नेपाली बाबु वा आमाबाट जन्मिएकी महिलाको आफ्नै नागरिकताको हक समाप्त नगर्ने सर्वोच्चको ठहर छ।
सर्वोच्चको पूर्णपाठमा नेपाली बाबुआमाबाट जन्मिएकी महिलाले विदेशी नागरिकसँग विवाह गरेको कारण मात्रै वंशजको आधारमा नेपालको नागरिक नमानिने व्यवस्था संविधानमा नरहेको उल्लेख गरिएको छ। नागरिकलाई राज्यविहीन अवस्थामा राख्न नहुने भन्दै अदालतले नागरिकताको हक सुनिश्चित गर्नुपर्ने बताएको छ।
सुकुमाया लामाले बाल्यकालमै भारत गएर सर्कसमा काम गरेकी थिइन्। भारतमा रहँदा उनको विवाह भारतीय नागरिकसँग भएको र दुई छोरी जन्मिएका थिए। पतिको निधनपछि नेपाल फर्किए पनि उनले लामो समयसम्म नागरिकता प्रमाणपत्र पाउन संघर्ष गर्नुपरेको थियो।
लामाले २०६८ सालमा सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। करिब १६ वर्षको कानुनी संघर्षपछि सर्वोच्चले उनको बाबु र आमा नेपाली नागरिक रहेको प्रमाणित भए कानुनबमोजिम प्रक्रिया पूरा गरी वंशजको आधारमा नागरिकता दिन आदेश दिएको हो।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संवैधानिक इजलासले १४ जेठ २०८२ मा फैसला गरेको थियो। उक्त फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो।
सर्वोच्चले नेपाली महिलाले विदेशी नागरिकसँग विवाह गरेपछि उनका सन्तानले पाउने नागरिकताको विषय भने अलग रहेको स्पष्ट पारेको छ। विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाका सन्तानले कानुनबमोजिम अंगीकृत नागरिकता पाउने व्यवस्था रहे पनि आमाको आफ्नै वंशजको नागरिकताको हकमा त्यसले असर नगर्ने अदालतको व्याख्या छ।







