सम्मानमा सम्झौता हुँदैन, पार्टी एकताका लागि नेतृत्व तयार हुनुपर्छ : पूर्णबहादुर खड्का
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र सम्मान र सिद्धान्तका विषयमा कुनै पनि सम्झौता स्वीकार्य नहुने बताएका छन्।
बीपी स्मृतिको अवसरमा संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै खड्काले पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वको स्पष्ट प्रतिबद्धता आवश्यक रहेको धारणा राखे। उनले पार्टीभित्रको असहमतिलाई संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै एकताको प्रयासलाई गलत रूपमा ‘बार्गेनिङ’को संज्ञा दिइएकोप्रति असन्तुष्टि व्यक्त गरे।
खड्काले आफूहरू कुनै व्यक्तिगत पद वा स्वार्थका लागि नभई पार्टीको एकता र सुदृढीकरणका लागि सक्रिय रहेको बताए। उनले युवा नेतृत्वलाई अघि बढाउन आफूहरू सधैं साथ रहने उल्लेख गर्दै आवश्यक परे युवाहरूको संरक्षणका लागि ढाल बनेर उभिने प्रतिबद्धता व्यक्त गरे।
उनले पार्टीको वर्तमान अवस्था विगतको तुलनामा चुनौतीपूर्ण रहेको टिप्पणी गर्दै सम्मानका लागि विगतमा कठिन संघर्ष गरिएको स्मरण गराए। “सम्मानमा सम्झौता गर्नुभन्दा संघर्ष गर्न तयार छौं,” उनले भने।
१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई पूर्णता दिँदै सबै पक्षलाई समेट्न नेतृत्वले पहल गर्नुपर्ने उनको भनाइ थियो। विशेष महाधिवेशनको अवधारणा पार्टी विधानअनुकूल नभएको टिप्पणी गर्दै उनले सबै पक्षलाई समेट्ने सहमतिमार्फत मात्रै संगठनलाई बलियो बनाउन सकिने बताए।







