एमालेले समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा, मुख्यमन्त्री बानियाँलाई बहुमत जुटाउने चुनौती
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै बागमती प्रदेश सरकार अल्पमतमा परेको छ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारबाट एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि प्रदेशको सत्ता समीकरणमा नयाँ मोड आएको हो। बुधबार एमालेबाट सरकारमा सहभागी ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका थिए।
उनीहरूले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी गराएका थिए भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा पत्र दर्ता गराएका थिए। मुख्यमन्त्री बानियाँले भेटका लागि समय नदिएपछि एमालेका मन्त्रीहरूले मुख्यमन्त्री सचिवालयमा राजीनामा बुझाएका हुन्।
पछि उनीहरूले प्रमुख सचिव बाबुराम अधिकारीसमक्ष समेत राजीनामा पत्र पेस गरेका थिए। राजीनामा दिने मन्त्रीहरूमा उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, विनाविभागीय मन्त्रीहरू किरण थापा, भरतबहादुर केसी र जयराम थापा रहेका छन्।
एमालेको समर्थन फिर्तासँगै मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार टिकाउने चुनौतीमा परेको छ। संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। हाल ११० सदस्यीय बागमती प्रदेशसभामा ६ पद रिक्त रहेकाले १०४ सदस्य कायम छन्। सरकार गठन वा निरन्तरताका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ।
प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपा (माओवादी केन्द्र)का २६, एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। यसबीच एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण बनाउने चर्चा चलिरहेको छ। तर नयाँ गठबन्धनले पनि सरकार गठनका लागि आवश्यक ५३ सांसदको समर्थन जुटाउनुपर्ने चुनौती रहनेछ।
एमाले–कांग्रेस गठबन्धनबाट गत साउन २० गते मुख्यमन्त्री बनेका बानियाँलाई अब नयाँ राजनीतिक समीकरण निर्माण गर्दै सरकार जोगाउने दबाब परेको छ।







