देशभर मनसुनी प्रभाव कायम, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
Prime TV News एक महिना अगाडि 
काठमाडौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानमै रहेको छ। यसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ।
मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली छ। हाल कोशी, बागमती र कर्णाली प्रदेशका केही तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका केही र तराईका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला आसपास तथा पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।







