गणतन्त्रविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छः प्रचण्ड
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको बताएका छन्।
पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले बिहीबार चम्पादेवीमा आयोजना गरेको ४८औँ पुष्पलाल स्मृति दिवस कार्यक्रममा बोल्दै उनले गणतन्त्र र राजनीतिक परिवर्तनमाथि भइरहेको आक्रमणको प्रतिवाद गर्न नयाँ अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले वर्तमान परिस्थितिलाई प्रतिक्रान्तिविरुद्ध नयाँ संकल्प गर्ने अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै गणतन्त्रका उपलब्धिको रक्षा गर्न सबै प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्ने बताए। प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको वैचारिक र राजनीतिक आधार निर्माण गर्न पुष्पलाल श्रेष्ठले महत्वपूर्ण योगदान दिएको स्मरण गरे।
सामन्तवाद र साम्राज्यवादविरुद्ध वैचारिक हतियार निर्माणमा पुष्पलालको भूमिका ऐतिहासिक रहेको उनको भनाइ थियो। उनले नेपालमा कम्युनिस्ट पार्टीको आवश्यकता महसुस गराउँदै त्यसको वैचारिक तथा राजनीतिक आधार खडा गर्ने कठिन जिम्मेवारी पुष्पलालले सफलतापूर्वक निर्वाह गरेको बताए।







