देशभर बर्डफ्लु संक्रमण नियन्त्रणमा, साउन देखि नयाँ संक्रमण देखिएन
Prime TV News ४८ मिनेट अगाडि 
काठमाडौ । देशका विभिन्न भागमा फैलिएको बर्डफ्लु संक्रमण अहिले नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ।
विभागका अनुसार १ साउनयता देशको कुनै पनि स्थानमा बर्डफ्लुको नयाँ संक्रमण पुष्टि भएको छैन। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले बर्डफ्लु पूर्णरूपमा नियन्त्रणमा रहेको जानकारी दिँदै पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर–१ सुन्दरीजलमा संक्रमण पुष्टि भएको बताए।
त्यसयता नयाँ संक्रमण नदेखिएको र जोखिम न्यूनीकरणका लागि विगतमा संक्रमण देखिएका क्षेत्र वरिपरिबाट नमुना संकलन गरी प्रयोगशाला परीक्षणलाई निरन्तरता दिइएको उनले बताए। पछिल्लो चरणको संक्रमण ४ चैत २०८२ मा मोरङको उर्लाबारी–८ र सुन्दरहरैंचा–४ मा पुष्टि भएको थियो।
त्यसपछि संक्रमण ११ जिल्लामा फैलिएको थियो। विभागका अनुसार हाल काठमाडौं उपत्यका बाहिरका सबै प्रभावित जिल्लामा संक्रमण पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ। काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा गरी ११९ स्थानमा संक्रमण पुष्टि भएको थियो। तीमध्ये काठमाडौंमा ३२, ललितपुरमा १५, भक्तपुरमा ४५ र काभ्रेपलाञ्चोकमा २७ स्थान प्रभावित भएका थिए।
संक्रमण नियन्त्रणका क्रममा देशभर ८ लाख ३५ हजार ५ सय ६३ वटा पन्छी नष्ट गरिएको विभागले जनाएको छ। वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार ११ लाख ६५ हजार ६ सय ६३ वटा अण्डा र २ लाख ४५ हजार ३५ किलो दाना पनि सुरक्षित रूपमा नष्ट गरिएको थियो। काठमाडौं उपत्यका र काभ्रेमा मात्रै ३ लाख ६७ हजार ८३५ पन्छी नष्ट गरिएका थिए।
बर्डफ्लुले मुख्य रूपमा कमर्सियल लेयर्स कुखुरामा असर गरे पनि ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा समेत क्षति पुर्याएको विभागले जनाएको छ। सरकारले प्रभावित किसानलाई राहतस्वरूप क्षतिपूर्ति वितरण पनि गरेको छ। विभागका अनुसार ५२ करोड रुपैयाँ राहत व्यवस्थापन गरिएकोमा हालसम्म १०४ कृषक तथा फार्मलाई करिब ५० करोड ७१ लाख १५ हजार रुपैयाँ वितरण गरिसकिएको छ।
विभागले सरकारको तदारुकता, प्रयोगशाला परीक्षणको तीव्रता र किसानको सहयोगका कारण संक्रमण समयमै नियन्त्रणमा आएको जनाएको छ। संक्रमण नियन्त्रणमा आएपछि बजारमा कुखुराको मासु र अण्डाको खपत बढ्न थालेको तथा किसानले उत्पादनको उचित मूल्य पाउन थालेको विभागको भनाइ छ।







