पुष्पलालकै योगदानले नेपाली कम्युनिष्ट आन्दोलन उचाइमा पुग्यो : झलनाथ खनाल

User Image Prime TV News ५९ मिनेट अगाडि
Image of पुष्पलालकै योगदानले नेपाली कम्युनिष्ट आन्दोलन उचाइमा पुग्यो : झलनाथ खनाल

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठकै योगदानले नेपाली कम्युनिष्ट आन्दोलन उचाइमा पुगेको बताएका छन्।

पुष्पलालको ४८औँ स्मृति दिवसका अवसरमा बिहीबार जारी सन्देशमा नेता खनालले पुष्पलाललाई नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेता तथा संस्थापक नेता भएको उल्लेख गर्दै उनले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका लागि स्पष्ट वैचारिक मार्गनिर्देशन गरेको बताए।

खनालले पुष्पलालकै मार्गदर्शनअनुसार अघि बढ्दा नेपालमा जनवादी क्रान्ति सफल भएको, संविधानसभामार्फत संविधान निर्माण भएको र समाजवादी रूपान्तरणतर्फ अघि बढ्ने ऐतिहासिक आधार तयार भएको उल्लेख गरेका छन्।

उनले पछिल्लो समय कम्युनिष्ट आन्दोलन आफ्नो मूल वैचारिक मार्गबाट विचलित हुँदै दक्षिणपन्थी दिशातर्फ मोडिएको दाबी गर्दै त्यसका कारण देशले राजनीतिक, आर्थिक तथा राष्ट्रिय चुनौतीहरूको सामना गरिरहेको बताएका छन्। राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, लोकतन्त्र र संविधानले सुनिश्चित गरेका जनअधिकारमाथि विभिन्न प्रकारका चुनौती देखापरेको उनको भनाइ छ।

यस्तो परिस्थितिमा सही क्रान्तिकारी कार्यदिशाका आधारमा नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन, रूपान्तरण र एकताबद्ध बनाउनु आवश्यक रहेको खनालले बताएका छन्। उनले राष्ट्रिय स्वाधीनता, राष्ट्रिय अखण्डता, राष्ट्रिय हित र जनताको उपलब्धिको रक्षा गर्दै सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक तथा देशभक्त शक्तिबीच फराकिलो एकता, सहकार्य र साझा पहल अपरिहार्य भएको उल्लेख गरेका छन्।

पुष्पलालले प्रतिपादन गरेको राष्ट्रिय स्वाधीनता, जनताको सर्वोच्चता, प्रगतिशील परिवर्तन, संयुक्त आन्दोलन र वाम एकताको मार्गलाई आत्मसात् गर्दै वर्तमान चुनौतीको सामना गर्नु नै उनको सच्चा सम्मान हुने खनालले बताएका छन्। साथै उनले नेपाली विशेषताको वैज्ञानिक समाजवादको लक्ष्य प्राप्तिका लागि सबै वाम शक्तिलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।