लोकसेवा पदपूर्ति प्रक्रिया रोक्ने निर्णयविरुद्ध अखिल (क्रान्तिकारी)को विरोध
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । लोकसेवा आयोगको नियमित पदपूर्ति प्रक्रिया रोक्ने सरकारको निर्णयप्रति विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले कडा विरोध जनाएको छ।
संगठनले प्रेस वक्तव्य जारी गर्दै गत ४ साउनमा बसेको मुख्यसचिवस्तरीय बैठकको निर्णय नम्बर ११ मार्फत चालू आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना स्थायी पदपूर्ति नगर्ने र लोकसेवा आयोगमा माग नपठाउने निर्णय गरिएको भन्दै आपत्ति जनाएको हो।
अखिल (क्रान्तिकारी)ले संवैधानिक रूपमा स्वायत्त रहेको लोकसेवा आयोगलाई नियन्त्रण गर्ने प्रयास गरिएको आरोप लगाउँदै यसले लाखौँ प्रतिस्पर्धी विद्यार्थीको भविष्यमा असर पार्ने दाबी गरेको छ। संगठनले यस्तो निर्णयले युवालाई वैदेशिक रोजगारीतर्फ जान बाध्य बनाउने अवस्था सिर्जना गर्ने जनाएको छ।
सरकारका नीतिका कारण व्यवसायी तथा युवा जनशक्ति दुवै प्रभावित भइरहेको दाबी गर्दै संगठनले उक्त निर्णयलाई निरंकुश र जनविरोधी कदमको संज्ञा दिएको छ। अखिल (क्रान्तिकारी)ले निर्णय तत्काल फिर्ता लिन माग गर्दै माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने उल्लेख गर्दै संगठनले निर्णयविरुद्ध एकताबद्ध भएर प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई आह्वान गरेको छ।








