विश्वविद्यालयमा भागबन्डा होइन, मेरिटोक्रेसीबाट नियुक्ति हुन्छ : शिक्षामन्त्री पोखरेल

User Image Prime TV News १० घण्टा अगाडि
Image of विश्वविद्यालयमा भागबन्डा होइन, मेरिटोक्रेसीबाट नियुक्ति हुन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा राजनीतिक भागबन्डाका आधारमा नभई योग्यताका आधारमा (मेरिटोक्रेसी) नियुक्ति गरिने बताएका छन्।

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले पछिल्ला नियुक्तिहरू खुला प्रतिस्पर्धा र योग्यताका आधारमा भएको दाबी गरे। उनले विश्वविद्यालयमा नयाँ ऊर्जा थपिएको उल्लेख गर्दै आगामी दिनमा भागबन्डाको संस्कृतिको अन्त्य गरी मेरिटोक्रेसीको विकास गरिने बताए।

उनले विश्वविद्यालयमा हुने राजनीतिकरण चार वर्षभित्र अन्त्य गर्ने दाबी गर्दै सरुवा, बढुवा र नियुक्तिमा राजनीतिक दबाब नआउने स्पष्ट पारे। कुनै किसिमको दबाब आए शिक्षा मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्दै उनले आफ्नो दल वा अन्य कुनै दलबाट समेत त्यस्तो हस्तक्षेप स्वीकार्य नहुने बताए।

मन्त्री पोखरेलले विश्वविद्यालयलाई स्वायत्त रूपमा काम गर्न आग्रह गर्दै त्रिभुवन विश्वविद्यालयको सम्पत्ति फिर्ता ल्याउने प्रक्रियामा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विश्वविद्यालय नेतृत्वलाई आफ्नो सम्पत्तिको संरक्षण र फिर्ताका लागि सक्रिय हुन निर्देशन दिए।

उच्च शिक्षाको विकासका लागि सरकारले आगामी पाँच वर्षको नीति, दृष्टिकोण र लक्ष्यबारे विश्वविद्यालय नेतृत्वसँग छलफल गरिरहेको उनले जानकारी दिए। त्रिभुवन विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै उनले विदेशी विद्यार्थी आकर्षित गर्ने र विदेशी प्राध्यापक आदानप्रदान कार्यक्रम अघि बढाउने योजना रहेको बताए।