ऋण नतिर्ने सहकारीका ऋणी र जमानीकर्ताको बैंक खाता रोक्का गरिने

User Image Prime TV News ९ घण्टा अगाडि
Image of ऋण नतिर्ने सहकारीका ऋणी र जमानीकर्ताको बैंक खाता रोक्का गरिने

काठमाडौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीबाट लिएको ऋण नतिर्ने ऋणी, उनीहरूका जमानीकर्ता तथा तोकिएका नातेदारको समेत बैंक खाता रोक्का गर्ने जनाएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत रहेको समितिले १२ बुँदे सार्वजनिक सूचना जारी गर्दै नियमानुसार ऋण नतिर्ने वा सम्पर्कमा नआउने ऋणीको ऋण चुक्ता गर्ने दायित्व जमानीकर्ताको समेत हुने स्पष्ट पारेको हो। ऋण असुल नभएसम्म ऋणी र जमानीकर्ता दुवैको बैंक खाता रोक्का रहने समितिले जनाएको छ।

समितिका अनुसार समस्याग्रस्त सहकारीबाट लिएको ऋणको ब्याज वा हर्जाना मिनाहा गर्ने अधिकार समितिसँग नरहेको भन्दै छुट माग गरिएका निवेदनमाथि कारबाही नहुने बताएको छ। ऋणको ब्याज र हर्जाना गणना गर्दा २०७६ साउन १ गतेदेखि १६ प्रतिशतका दरले तथा त्यसअघिको हकमा तमसुकमा उल्लेख भएअनुसार गणना गरिनेछ। बाँकी ब्याजमा ५ प्रतिशत हर्जाना लाग्ने समितिले जनाएको छ।

ऋण र बचत मिलानको हकमा ५ लाख रुपैयाँसम्मको बचत भए पूर्ण रूपमा मिलान गर्न सकिनेछ भने सोभन्दा बढी बचतको हकमा ५० प्रतिशत रकम (अधिकतम ५० लाख रुपैयाँसम्म) ऋणसँग मिलान गर्न सकिने व्यवस्था गरिएको छ। तर, मिलान प्रक्रियामा ऋणीले आफ्नो कुल दायित्वको २० प्रतिशत रकम अनिवार्य रूपमा बैंकमा जम्मा गर्नुपर्नेछ र बाँकी ८० प्रतिशत मात्र मिलान गरिनेछ।

एक करोड रुपैयाँ वा सोभन्दा बढी बचत भएका बचतकर्ताले तोकिएको स्वघोषणा फाराम भरेर बुझाउनुपर्ने समितिले जनाएको छ। फाराम अध्ययन तथा छानबिनपछि मात्र थप प्रक्रिया अघि बढाइने बताइएको छ।

त्यसैगरी ज्येष्ठ नागरिक, एकल महिला तथा प्राणघातक रोगबाट पीडित कानुनी प्राथमिकताप्राप्त बचतकर्ताले आवश्यक प्रमाणसहित निवेदन दिएमा नियमअनुसार वर्षमा एकपटक तोकिएको रकम बचत फिर्ता लिन सक्ने व्यवस्था गरिएको समितिले जनाएको छ।