डा. गोविन्द केसीको २४औँ सत्याग्रह धनगढीबाट सुरु, गेटा मेडिकल विश्वविद्यालयका नियुक्ति मुख्य मुद्दा

User Image Prime TV News ८ घण्टा अगाडि
Image of डा. गोविन्द केसीको २४औँ सत्याग्रह धनगढीबाट सुरु, गेटा मेडिकल विश्वविद्यालयका नियुक्ति मुख्य मुद्दा

काठमाडौ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अभियन्ता डा. गोविन्द केसीले धनगढीमा आफ्नो २४औँ सत्याग्रह (अनशन) सुरु गरेका छन्।

सरकारले आफ्ना मागप्रति संवेदनशीलता नदेखाएको भन्दै डा. केसीले बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट आमरण अनशन सुरु गरेका हुन्। उनले यसपटकको सत्याग्रहलाई मुख्य रूपमा गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने प्रक्रियामा भएका नियुक्ति र त्यसमा देखिएको भनिएको राजनीतिक हस्तक्षेप तथा स्वार्थ समूहको चलखेलविरुद्ध केन्द्रित गरेका छन्।

डा. केसीले आफू गेटा मेडिकल कलेज वा प्रस्तावित विश्वविद्यालयको विरोधी नभएको स्पष्ट पार्दै त्यहाँ हुने पदाधिकारी नियुक्तिको प्रक्रियामाथि प्रश्न उठाएका छन्। सार्वजनिक संस्थामा निजी मेडिकल कलेजसँग आबद्ध तथा स्वार्थ बाझिने व्यक्तिलाई जिम्मेवारी दिइनुले गेटाको भविष्य र चिकित्सा शिक्षाको गुणस्तरमा असर पर्ने उनको दाबी छ।

उनले स्वार्थ बाझिने पदाधिकारीहरूको नियुक्ति तत्काल खारेज गर्नुपर्ने माग गरेका छन्। साथै चिकित्सा शिक्षा आयोगको गरिमा कायम राख्नुपर्ने, आयोगले निर्धारण गरेका मापदण्डविपरीत निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने वा छात्रवृत्ति कटौती गर्ने कार्य रोक्नुपर्ने माग पनि अघि सारेका छन्।

डा. केसीले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को मर्मअनुसार चिकित्सा शिक्षालाई पूर्ण रूपमा नाफारहित बनाउनुपर्ने र सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरूको परिचालन व्यवस्थित गर्नुपर्ने बताएका छन्।

उनका अन्य मागमा विगतमा सरकारसँग भएका सम्झौताको पूर्ण कार्यान्वयन, सुदूरपश्चिमसहित सीमावर्ती क्षेत्रका नागरिकको स्वास्थ्य तथा शिक्षा अधिकार सुनिश्चित गर्न आवश्यक पूर्वाधार निर्माण, द्वन्द्वकालीन पीडितलाई न्याय र भ्रष्टाचारसम्बन्धी आरोपको निष्पक्ष छानबिन रहेका छन्।

डा. केसीले सरकारलाई माग सम्बोधनका लागि साउन ५ गतेसम्मको समय दिएको भए पनि त्यस अवधिमा ठोस पहल नभएपछि सत्याग्रह सुरु गर्नुपरेको बताएका छन्। आफ्ना माग पूरा नभएसम्म अनशन जारी राख्ने उनको भनाइ छ।