आज देशका अधिकांश भूभागमा मौसम सफा, केही ठाउँमा हल्का वर्षाको सम्भावना

User Image Prime TV News ११ महिना अगाडि
Image of आज देशका अधिकांश भूभागमा मौसम सफा, केही ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाडौं । देशका अधिकांश भूभागमा आज मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुन प्रणाली र स्थानीय वायुको प्रभाव कमजोर भएकाले देशभर स्थिर मौसम रहने अनुमान गरिएको हो।

विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मुख्यतया सफा मौसम रहनेछ।

पहाडी क्षेत्रमा एकदुई स्थानमा मात्रै हल्का वर्षा पर्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ। राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

अन्य भूभागमा भने मौसम सफा रहने विभागको पूर्वानुमान छ। हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ भने बाँकी भागमा मनसुनी र स्थानीय वायुको प्रभाव न्यून देखिएको विभागले जनाएको छ।

मौसमविद्हरूका अनुसार मनसुन प्रणाली क्रमशः कमजोर हुँदै गएको संकेत देखिन थालेको छ, जसका कारण नेपाल अहिले हिउँदे मौसमतर्फ प्रवेश गर्ने प्रारम्भिक चरणमा पुगेको छ। यसले निकट भविष्यमा स्थिर आकाश र चिसो बिहान ल्याउने अपेक्षा गरिएको छ।