कांग्रेसले ऐतिहासिक निर्णय गर्ने बेला आएको छ : भीष्मराज आङ्देम्बे
Prime TV News ८ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले अहिलेको परिस्थितिमा ऐतिहासिक निर्णय गर्ने बेला आएको बताएका छन्।
बीपी कोइराला स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आङ्देम्बेले वर्तमान समयले कांग्रेससँग केवल भाषण नभई गम्भीर निर्णय र नयाँ संकल्पको अपेक्षा गरेको बताए। उनले विगतमा एक व्यक्तिको भाषणबाट महिनौँ उत्साहित भएर बस्ने अवस्था भए पनि अहिलेको आवश्यकता फरक रहेको उल्लेख गरे।
“अहिलेको समयले कांग्रेसलाई एक थान भाषणका लागि होइन, गम्भीरतापूर्वक ऐतिहासिक निर्णय गर्न भनेको छ,” उनले भने। आङ्देम्बेले जीवन्त राजनीतिक पार्टीमा छलफल, बहस र विचारको आदानप्रदान स्वाभाविक हुने बताए। तर विवाद आक्रोशमा परिणत हुँदै गए पार्टी कमजोर बन्ने चेतावनी दिए।
“जब विवाद आक्रोशित ध्यानमा रूपान्तरण हुँदै जान्छ, त्यतिबेला त्यही विवादले पार्टी जीवनलाई समाप्त पार्दै जान्छ। शिथिल पार्टीले उन्नत निष्कर्ष दिन सक्दैन,” उनले भने।
उनले इतिहासले कांग्रेसका नेता तथा कार्यकर्तालाई सचेत गराइरहेको दाबी गर्दै त्यसलाई गम्भीर रूपमा लिनुपर्ने बताए। नयाँ परिस्थितिअनुसार नयाँ संकल्प गर्दै पार्टीका संरचनालाई थप प्रभावकारी बनाउने अभियान अघि बढाउनुपर्ने उनको भनाइ थियो।





