नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

User Image Prime TV News ८ घण्टा अगाडि
Image of नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ।

नेप्से १४.१७ अंकले वृद्धि हुँदै २७२६.७२ विन्दुमा पुगेर बन्द भएको हो। परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ५ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीबार कारोबार रकम घटेर ४ अर्ब ६९ करोड रुपैयाँमा सीमित भएको छ।

यस दिन ३३८ वटा धितोपत्रको १ करोड ७७ हजार २२२ कित्ता सेयर किनबेच भएको छ। कारोबारमा आएका कम्पनीमध्ये १५३ वटाको सेयर मूल्य बढेको छ भने १११ वटाको घटेको छ। १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

बिहीबार एभरेस्ट कलरको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५६६ रुपैयाँ २० पैसा पुगेको छ। त्यस्तै, स्नो रिभर्सको मूल्य १३.७१ प्रतिशतले बढेर प्रतिकित्ता ९९५ रुपैयाँ कायम भएको छ।

यता कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले घटेको छ। कम्पनीको प्रतिकित्ता मूल्य घटेर १ हजार ४५ रुपैयाँ ५० पैसा कायम भएको छ। बुंगल हाइड्रोको मूल्य पनि ९.९३ प्रतिशतले घट्दै प्रतिकित्ता ६३५ रुपैयाँमा झरेको छ।

बिहीबार सबैभन्दा बढी कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ। कम्पनीको प्रतिकित्ता ३ हजार ५१६ रुपैयाँका दरले २८ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो। अघिल्लो दिनको तुलनामा कम्पनीको सेयर मूल्य ४.४८ प्रतिशत घटेको छ।

सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा आँखुखोला जलविद्युत रहेको छ। उक्त कम्पनीको २७ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बिहीबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लगानी र अन्य समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको छ। तीमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशतले वृद्धि भएको छ।