चुनावको नाममा तर्साएर कांग्रेस डराउँदैन : गगन थापा
Prime TV News ९ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको नाममा आफूलाई तर्साउने प्रयास भए पनि कांग्रेस चुनावबाट नडराउने बताएका छन्।
४४औँ बीपी कोइराला स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले कांग्रेस सत्ता केन्द्रित नभई समाज र सिद्धान्तमा आधारित राजनीति गर्ने पार्टी भएको बताए। उनले राजनीति केवल शक्तिको वा सत्ताको प्रतिस्पर्धा मात्र नभएको उल्लेख गर्दै बीपी कोइरालाले दिएको राजनीतिक दर्शनअनुसार कांग्रेस अघि बढ्ने बताए।
“कतिपय साथीहरू र केही नेताहरूले पनि ‘स्थानीय चुनावमा हेरौँला, प्रदेशको चुनावमा हेरौँला’ भन्दै तर्साउन खोज्नुहुन्छ,” थापाले भने, “तर हामी बीपी कोइरालाका कार्यकर्ता हौँ। एउटा चुनाव जितेर मात्तिने वा एउटा चुनाव हारेर आत्तिने होइनौँ।”
थापाले चुनाव हारिने डरले पार्टीको आस्था र सिद्धान्तसँग सम्झौता नगर्ने स्पष्ट पारे। समाज र सिद्धान्तले स्वीकार नगर्ने गठबन्धनको राजनीतिमा कांग्रेस नलाग्ने भन्दै उनले नागरिकको विश्वास र भरोसा नै पार्टीको मुख्य आधार हुनुपर्ने धारणा राखे।
उनले कांग्रेसलाई सत्तासँगभन्दा समाजसँग जोडिएको पार्टीका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै आगामी निर्वाचनको सामना आत्मविश्वासका साथ गर्ने बताए।






