साइबर अपराधको आरोपमा अभियन्ता वेदिका केसी पक्राउ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सामाजिक सञ्जाल मार्फत विभिन्न व्यक्तिको निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको र लाञ्छनापूर्ण सामग्री प्रसारण गरेको आरोपमा आफूलाई अभियन्ता बताउने वेदिका केसी पक्राउ परेकी छन्।
नेपाल प्रहरीको साइबर ब्युरोले केसीलाई पक्राउ गरेको हो। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलीप गिरीका अनुसार अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार केसीविरुद्ध सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रमा आँच पुग्ने खालका सामग्री सार्वजनिक गरेको आरोपमा उजुरी परेको थियो। पछिल्ला केही दिनयता केसीले सामाजिक सञ्जालमा राधिका दासीमाथि व्यक्तिगत स्तरमा विभिन्न गम्भीर आरोप लगाउँदै आएकी थिइन्।
ती आरोपहरू निराधार रहेको दाबी गर्दै राधिकाले आफ्नो चरित्रहत्या गर्न खोजिएको भन्दै साइबर ब्युरोमा उजुरी दर्ता गराएकी थिइन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।






